परम्परागत हाते तान बुनाई

2021 -09- 28

हाते तान हातले कपडा बुन्न प्रयोग गरिने एउटा परम्परागत यन्त्र हो। सामान्यतया, बुनाईमा धागोको दुई भिन्न सेटहरू-तनोट (ताना वा लम्बाइतिरबाट लाग्ने धागो) र बुनोट (बाना वा चौडाइतिरबाट लाग्ने धागो) समकोण पारेर परस्पर गुथिन्छ। ताना धागोहरू काठको फ्रेम वा तानमा समानान्तर हुने गरी तनक्क तन्काइएका हुन्छन् जब कि बाना धागो स्थिर ताना धागोमा बुनिन्छ।    

हाते तानको मुख्य भागहरू: 

ताना बेलन

ताना बेलन तानको पछाडिको भागमा रहने काठको एउटा रोलर हो जसमा ताना धागोहरू बेरिएका हुन्छन्, र  बुनाईको क्रममा आवश्यकता अनुसार रोलरबाट धागो तान्ने गरिन्छ। 

थुरी (सटल) 

थुरी (सटल) तानबुन्दा बाना धागो राखी ताना धागोमा वारपार छिराउनको निम्ति बनाइएको दुवैतिर लामो चुच्चो परेको काठको औजार हो।

कोका

कोका तानको एउटा अभिन्न अंग हो। कोकाहरू डोरी वा तारबाट बनेका हुन्छन् र प्रत्येक कोकाको बीचमा प्वाल हुन्छ जहाँ ताना धागो छिराइएको हुन्छ। तानमा जति ताना धागा हुन्छन् त्यति नै कोकाहरू हुन्छन् र ती शाफ्टमा जोडिएका हुन्छन्। कोकाहरूले ताना धागोलाई दुई भागमा विभाजन गर्दछन् जसले गर्दा बाना धागो बीचबाट सजिलैसँग छिर्न सक्छन्।

हार्नेस / शाफ्ट

हार्नेस/ शाफ्ट सजिलै सार्न मिल्ने काठको एक फ्रेम हो जसमा कोकाहरू जोडिएका हुन्छन्। बाना धागोलाई छिराउन मिल्ने ठाउँ बनाउन र चाहेको जस्तो डिजाइन तयार गर्न यी शाफ्टहरूलाई पाउदानले माथि वा तल सार्न सकिन्छ। 

कंघी

कंघी ठाडो छिद्रहरू भएको काइँयो जस्तो एक फ्रेम हो। यो ताना धागोहरूलाई छुट्ट्याउन र समान अन्तरमा राख्न, तानमा थुरीको गति नियन्त्रण गर्न र ताना धागो खाँद्न प्रयोग गरिन्छ। कंघीलाई काठ (जुवा) ले च्यापेर राखिएको हुन्छ र जुवा कंघीलाई सार्न ह्यान्डलको रूपमा प्रयोग गरिन्छ।

मुर्चल

यो काठको एउटा रोलर हो जसमा बुनेको कपडा बेरिन्छ।  

हाते तान बुन्ने परम्परागत सीप 

नेपालको मगर समुदायमाझ हाते तानबाट कपडा बुन्ने परम्परागत विधि अझै प्रचलनमा छ। तनहुँ जिल्ला ऋषिङ्ग गाउँपालिका वडा नम्बर ७ कोटदरबार स्थित अर्खलछाप टोलकी श्रीमती पवित्रा थापा मगरले बाल्यकालदेखि नै आमाबाट सिकेको हाते तान बुन्ने परम्परागत सीपलाई निरन्तरता दिइरहेकी छिन्। 

पवित्रा आफ्नो घरमा रहेको हाते तानबाट गलबन्दी, पछ्यौरा, कछाड आदि जस्ता मगर समुदायको परम्परागत पोसाक बुन्ने गर्दछिन्। हातले बुनिएका ती पोसाकको स्वदेश (काठमाडौं, पोखरा, दमौली) तथा विदेश (हङकङ, बेलायत, सिंगापुर, ब्रुनाई) मा समेत धेरै माग रहेको उनी बताउँछिन्।  

उनी अन्य महिला दिदीबहिनीहरूलाई आफ्नो तान बुनाई सीप पनि सिकाउँछिन्। उनले मगर समाज, खैरेनीका महिलाहरूलाई तान बुनाई तालिम दिइसकेकी छिन्। तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउने मात्र नभएर यसबाट परम्परागत ज्ञान, सीप तथा प्रविधिको संरक्षण एवं संवर्द्धन हुने र नयाँ पुस्तालाई परम्परागत सीप हस्तान्तरणमा समेत भूमिका खेल्ने उनले बताइन्। 

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing