बाख्रापालन

2021 -09- 28

राम्जाकोट, रुपाटारका लीलाराम पुरी व्यावसायिक बाख्रापालक कृषक हुन्। बाख्रापालन बाहेक उनले कागती, केरा र मेवा खेती पनि गरेका छन्। उनी कागतीबाट चुक बनाएर बिक्री गर्ने गर्दछन्।

कृषक पुरीले वि. सं. २०७० देखि ‘अनुकूलन बाख्रा फार्म’ खोलेर व्यावसायिक बाख्रापालन सुरु गरेका हुन्। उनको बाख्रा फार्ममा अहिले १०० गोटा जति बाख्रा छन्। उनी बाख्राको स्याहार सुसारको लागि रातदिन नभनी खट्ने गरेको सुनाउँछन्। उनका अनुसार, बाख्रापालन गर्दा घाँस, दानापानी खुवाउने समय र तरिका, औषधी उपचार, खोरको व्यवस्थापन तथा सरसफाइ, पाठापाठी र माउहरुको व्यवस्थापन जस्ता धेरै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। उनी आफूले पालेका खसी बोका पोखरा लगेर बिक्री गर्ने गर्दछन्। छरछिमेकमा बस्नेहरू र व्यापारीहरू घरैमा खरिद गर्न आउँछन्। बाख्रापालनबाट उनले वार्षिक ३ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन्। उनी खसी बोका बिक्री गर्नको लागि बजारको कुनै समस्या नरहेकाले युवालाई जाँगरिलो हुन सके गाउँमै बाख्रापालन व्यवसाय गरेर राम्रो आम्दानी गर्न सकिने र विदेश जानु नपर्ने बताउँछन्।    

कृषक पुरी बाख्राको मल आफ्नो खेतबारीमा उब्जने अन्नबाली र फलफूलको बिरुवामा प्रयोग गर्ने गर्दछन्। उनी कागतीबाट चुक बनाएर वर्षमा करिब ४०,००० रुपैयाँ आम्दानी गर्छन्। 

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing