कौराहा

2021 -09- 28

नेपालको गण्डक क्षेत्र र आसपास बसोबास गर्ने मगर समुदायमा प्रचलित लोकनृत्यहरू सालैजो, सोरठी, मारुनी, घाटु, झाम्रे (झ्याउरे), ज्यानै, ओहली, नाचन, कौराहा आदि हुन्। यीमध्ये कौराहा सबैभन्दा लोकप्रिय नृत्य हो। 

तनहुँ जिल्लाको ऋषिङ्ग क्षेत्र मगर समुदायको मौलिक संस्कृति र पहिचान झल्किने कौराहा (कौरा) नृत्यको उद्गमस्थल हो। रोदीघरमा रेन्झा (युवक) हरू गुन्द्री ओछ्याएर एउटै समूहमा बसी खैँजडी बजाएर गीत गाउने र आर्नाम (युवती) हरू खुट्टामा झर्रा लगाई सामुन्ने हुनेगरी लहरै उभिएर समूहमा नाचिने नृत्यलाई कौराहा नृत्य भनिन्छ। कौराहा चैत्रदेखि जेठसम्म नाच्ने गरिन्थ्यो। तर आजभोलि विभिन्न शुभ अवसरहरूमा बाह्रै महिना पनि नाचिन्छ।   

मगर युवकयुवतीहरू परम्परागत वेशभूषामा सजिएर कौराहा नृत्यमा सहभागी हुने गर्दछन्। युवतीहरू गुन्यू, चोलो, घलेक, काँधमा पछ्यौरी; कम्मरमा पहेंलो वा निलो पटुकी; शिरमा शिरफुल, शिरबन्दी; कानमा ढुँग्री, मुन्द्री; नाकमा बुलाकी, फुली; घाँटीमा जन्तर, मुगा, कण्ठा; हातमा ठोका (रैँया), चुरा; कपालमा लाछाडोरी र खुट्टामा झर्रा लगाउँछन् भने युवकहरू भोटो, कछाड, कपडाको हरियो पहेंलो वा निलो टुन, सेतो कमिज, इस्टकोट र टोपीमा सजिएका हुन्छन्।    

आदिवासी मगरमा प्रचलित रोदी र कौराहा नाच’ पुस्तकका लेखक श्री दान बहादुर आले मगरका अनुसार युवक युवतीहरू परम्परात मगर वेशभूषामा सजिएर जीवनशैलीसँग सम्बन्धित गीत र तालमा ताल मिलाएर नृत्य गरी श्रोता एवं दर्शकलाई मनोरञ्जन दिन सक्नु कौराहा नृत्यको मुख्य विशेषता हो। यस नृत्यमा युवकहरूले बजाउने खैँजडी र युवतीहरूले खुट्टामा लगाउने झर्रा बाहेक अन्य कुनै पनि वाद्यवादनको प्रयोग हुँदैन। कौराहा नृत्यमा अविवाहित महिलाहरू मात्र सहभागी हुने तथा युवकहरूले मात्र गीत गाउने परम्परा रहेको छ। कौराहा युवकयुवतीहरूले आफ्नो जीवन साथी रोज्ने उपयुक्त अवसर पनि हो। युवतीहरूले नजिकको गाउँका युवकहरूलाई आफ्नो गाउँमा कौराहा नचाउन आउन निम्तो दिने र निम्तो स्वीकार्दै युवकहरू नचाउन जाने चलन रहेको हुँदा यसले सामाजिक सद्भावको विकास गर्न समेत सघाउ पुर्‍याउँछ। कौराहाको लोकप्रियता मगर समुदायमा मात्र सीमित नरहेर आजभोलि गुरुङ, दरै, दुरा समुदायले पनि नाच्ने गरेको पाइन्छ।   

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing